भोटेकोशी बाढी पीडित परिवारलाई एक्लो महसुस नगर्न अर्थमन्त्री वाग्लेको आग्रह


बिर्तामोड, १६ असोज । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महसुस नगर्न आग्रह गर्नुभएको छ । हिजो मन्त्रालयमा पीडित परिवारसँग सामूहिक भेट गर्दै उहाँले अर्थ मन्त्रालय र भन्सार प्रशासन परिवारको साथमा रहेको बताउनुभयो । सरकारको राजस्व सङ्कलनमा खटिएका दक्ष कर्मचारीलाई अकल्पनीय विपत्तिमा गुमाउनुपरेकोमा दुःख व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले परिवारका समस्या कानुनी आधारमा प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले दिवंगत र बेपत्ता कर्मचारीका परिवारको शिक्षा, भरणपोषण र रोजगारीलाई उच्च प्राथमिकता दिइने बताउनुभयो ।
परिवारले बुझाएको प्राथमिक मागपत्र कार्यान्वयनमा लैजाने तथा कानुन संशोधन आवश्यक पर्ने विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने उहाँले जानकारी दिनुभयो । घटना दर्ता, बालबालिकालाई छात्रवृत्तिलगायतका विषयमा पनि मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो ।
बेपत्ताको खोजी कार्य जारी रहेको जानकारी दिँदै उहाँले पीडित परिवारलाई सहजीकरण गर्न विशेष कार्यदल गठन गर्न मन्त्रालय प्रशासनलाई निर्देशन दिनुभएको छ । भदौ १० गतेको भोटेकोशी बाढीमा रसुवा भन्सार कार्यालयका १५ कर्मचारी प्रभावित भएका थिए । तीमध्ये भन्सार अधिकृत नकुल शर्माको शव भेटिएर अन्तिम संस्कार गरिएको छ भने बाँकी १४ जना अझै सम्पर्कविहीन छन् । 

प्रतिकृया दिनुहोस