एमाले नेपाली विशेषताको समाजवाद निर्माणको अभियानमा अघि बढिरहेको छ : अध्यक्ष ओली 

काठमाडौं, १६ असोज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेपाली विशेषताको समाजवाद निर्माणको अभियानमा अघि बढिरहेको बताउनुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्ग अस्तित्वमा रहेसम्म वर्गसंघर्ष पनि कायम रहने धारणा राख्नुभयो । उहाँले सुरक्षा, समृद्धि र सम्मानसहितको समाज निर्माण गरेर सुखी नेपाली बनाउन सकिने बताउनुभयो ।
अध्यक्ष ओलीले गरिबी निवारण असम्भव विषय नभएको उल्लेख गर्दै विश्वका विभिन्न देशले गरिबी घटाएर उच्च उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले कतिपय देशले चरम गरिबी नै अन्त्य गरिसकेको र नेपाल पनि चरम गरिबी अन्त्य गर्ने अवस्थासम्म पुगेको दाबी गर्नुभयो ।
देशलाई विकास हुन नदिने तत्वहरूले विकासको अभियान रोक्ने प्रयास गरेको अध्यक्ष ओलीको भनाइ थियो । 
एमाले जिम्मेवार राज्य र जिम्मेवार अर्थतन्त्रको पक्षमा रहेको बताउँदै उहाँले समाजका कुनै पनि वर्ग र समुदाय विकासको मूलधारबाट बाहिर नपरोस् भन्ने उद्देश्यसहित पार्टीले काम गरिरहेको बताउनुभयो ।
सबै नागरिकको सहभागिता, अवसर र सम्मान सुनिश्चित गर्ने अभियान असाधारण रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेका विचार उन्नत, सामाजिक र जनमुखी रहेको उल्लेख गर्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस