पूर्वकप्तान विनोद दास मलेसिया क्रिकेट संघको सीओओ नियुक्त 

विर्तामोड, १० असोज ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दास मलेसिया क्रिकेट संघको प्रमुख सञ्चालन अधिकृत अर्थात् सीओओ नियुक्त हुनुभएको छ ।
नेपाल क्रिकेट संघका क्रिकेट अपरेसन म्यानेजरसमेत रहनुभएका दास मलेसिया क्रिकेट संघले खुलाएको सीओओ पदको आवेदन प्रक्रियाबाट छनोट हुनुभएको हो ।
दासले आफूले नेपाल क्रिकेट संघबाट एक महिनाअघि नै राजीनामा दिएको जानकारी दिनुभएको छ । उहाँले एक महिनाअघि नै क्यानलाई राजीनामाबारे जानकारी गराएको बताउनुभयो ।
मलेसिया क्रिकेट संघसँग औपचारिक सम्झौतामा भने हस्ताक्षर गर्न बाँकी रहेको दासले बताउनुभएको छ । सम्झौता पूरा भएपछि केही दिनमै मलेसिया प्रस्थान गर्ने उहाँको तयारी छ ।
दास नेपाली क्रिकेटका पूर्वकप्तान हुनुका साथै लामो समयदेखि क्रिकेट व्यवस्थापन र सञ्चालनको क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । मलेसिया क्रिकेट संघको प्रमुख सञ्चालन अधिकृतका रूपमा उहाँले त्यहाँको क्रिकेट प्रशासन तथा सञ्चालनसम्बन्धी जिम्मेवारी सम्हाल्नुहुनेछ । ०००००
 

प्रतिकृया दिनुहोस