धरानको शीतगृहले किसानलाई राहत, कृषि उपज सुरक्षित राख्न सहज
धरान, १७ असोज ।
सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह किसानका लागि राहतको माध्यम बनेको छ । बिक्री नभएका कृषि उपज भण्डारण गरेर पछि बिक्री गर्न सकिने भएपछि किसानको उत्पादन खेर जाने समस्या कम भएको हो ।
यसअघि फलफूल तथा तरकारी एकैपटक पाक्दा तत्काल बिक्री गर्नुपर्ने र बजार नपाउँदा सस्तोमा बेच्न वा फाल्नुपर्ने बाध्यता थियो । तर, शीतगृह सञ्चालनमा आएपछि किसानले आफ्ना उत्पादन १५ देखि २० दिनसम्म सुरक्षित राखेर अनुकूल समयमा बिक्री गर्न पाएका छन् ।
इटहरी र धनकुटाका व्यापारीका अनुसार शीतगृहले विशेषगरी लामो दूरीबाट कृषि उपज बिक्री गर्न आउने किसानलाई सहज भएको छ । ड्रागन फ्रुट, किबी, स्याउ तथा तरकारीलगायतका उत्पादन भण्डारण गर्न सकिने भएपछि किसानको मेहनत खेर जानबाट जोगिएको छ ।
कोशी प्रदेश सरकार र कृषि बजार व्यवस्थापन समितिको संयुक्त लगानीमा पहिलो शीतगृह ७६ लाख ८१ हजार रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको थियो । किसान तथा व्यापारीको माग बढेपछि थप ६७ लाख रुपैयाँको लागतमा अर्को शीतगृह पनि निर्माण गरिएको हो ।
अहिले शीतगृहमा ६ वटा च्याम्बर छन् । प्रत्येक च्याम्बरमा २५ देखि ३० टनसम्म कृषि उपज भण्डारण गर्न सकिन्छ । ड्रागन फ्रुट एक महिनासम्म, किबी तीन महिनासम्म र आलुको बीउ एक वर्षसम्म सुरक्षित राख्न सकिने व्यवस्था छ । किसानले प्रतिकिलो प्रतिमहिना दुई रुपैयाँ ५० पैसा शुल्क तिरेर कृषि उपज भण्डारण गर्न सक्छन् ।
यसैगरी, आँप, केरा र भुइँकटहर लगायत फलफूललाई रसायन प्रयोग नगरी तापक्रम मिलाएर पकाउन नयाँ च्याम्बर निर्माण भइरहेको छ । यद्यपि, विद्युत् महसुल र त्यसमा लाग्ने मूल्य अभिवृद्धि करका कारण शीतगृह सञ्चालनमा आर्थिक भार बढेको व्यवस्थापन समितिको भनाइ छ । विद्युत् महसुलमा ५० प्रतिशत छुट उपलब्ध गराउन सके सञ्चालन सहज हुने समितिले जनाएको छ । ०००००











प्रतिकृया दिनुहोस