मदन भण्डारी कप भलिबलको उपाधि नेपाल पुलिस क्लबले जित्यो
बुटबल, १७ असोज ।
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा आज भएको फाइनलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । पुलिसले सभापोखरीमाथि २५–२३, २५–२३ र २५–२२ को जित निकाल्यो ।
उपाधिसँगै पुलिसले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता सभापोखरीले तीन लाख ५० हजार रुपैयाँ पाएको छ ।
यस्तै, विभागीय टोली एपिएफ क्लब तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा एपिएफले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा पराजित गर्दै एक लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । चौथो भएको खैराले ७५ हजार रुपैयाँ पाएको छ ।
असोज १२ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालका चार र विदेशी तीन गरी सात टोलीको सहभागिता थियो । मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको यो दोस्रो संस्करण हो । ०००००











प्रतिकृया दिनुहोस