नारी सञ्चार गृहद्वारा नयाँ सदस्यलाई पत्रकारिता अभिमुखीकरण
बिर्तामोड, १७ असोज ।
नारी सञ्चार गृह झापाले नयाँ सदस्यका लागि अभिमुखीकरण तथा पत्रकारिता सीप विकास तालिम सञ्चालन गरेको छ । नेपाल पत्रकार महासङ्घ झापा शाखाको कार्यालयमा आज नयाँ सदस्यलाई स्वागत गर्दै गृहले ‘नारी सञ्चार अभिमुखीकरण तथा पत्रकारिता सीप विकास तालिम’ आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले पत्रकारिताका आधारभूत विषयमा सहजीकरण गर्दै समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र निष्पक्षतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार र व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिममा नारी सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले संस्थाको स्थापना, विगतका गतिविधि, वर्तमान अवस्था र आगामी कार्यदिशाबारे जानकारी दिनुभयो भने निवर्तमान अध्यक्ष रेजिना रोदनले नेपाली सञ्चार क्षेत्रमा महिला पत्रकारको अवस्था, चुनौती र सम्भावनाबारे सहजीकरण गर्नुभयो ।
गृहकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । सचिव दीपा सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाकी पूर्वअध्यक्ष भिमा शिवाकोटीसहित नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्षद्वय सुब्रत न्यौपाने र विनिषा शर्मा तथा सचिव प्रदीप परियारलगायतको उपस्थिति रहेको थियो । ००००००











प्रतिकृया दिनुहोस