अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनको काम तीव्र
बिर्तामोड, २० असोज ।
राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा जग्गा सम्याउने र बाहिरी पर्खाल निर्माणको काम तीव्र पारिएको छ । करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको हरित क्षेत्र टर्मिनल निर्माण गर्ने तयारी भइरहेको छ । नेपाल आयल निगमका अनुसार अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटर लामो पाइपलाइन बिछ्याइनेछ । पूर्वपश्चिम राजमार्गको समानान्तर बिछ्याइने पाइपलाइन हेटौँडा बजारलाई बाइपास गर्ने गरी नक्साङ्कन गरिएको छ। परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटर इन्धन लोथरसम्म आपूर्ति गर्न सकिनेछ । लोथरमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन भण्डारणका लागि विभिन्न क्षमताका ट्याङ्की निर्माण गरिनेछ । नयाँ डिपोमा कुल ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिनेछ ।
हवाई इन्धनसमेत पाइपलाइनबाट लोथर ल्याउन सकिने भएपछि हाल भारतको बरौनीबाट ट्याङ्करमार्फत भइरहेको ढुवानी खर्चमा ठूलो बचत हुने निगमको अनुमान छ । प्रतिलिटर करिब पाँच रुपैयाँ ढुवानी खर्च जोगिने र वार्षिक करिब दुई अर्ब रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ ।
पाइपलाइन र भण्डारण गृह निर्माणको कुल लागत करिब १४ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । परियोजना सञ्चालनमा आएपछि पेट्रोलियम पदार्थको ढुवानी सहज हुनुका साथै चोरी, मिसावट र वातावरणीय जोखिमसमेत घट्ने निगमले जनाएको छ ।


.jpeg)









प्रतिकृया दिनुहोस