नारायणगढ बजार जोगाउन उद्योगी व्यवसायीको माग
चितवन, २० असोज ।
उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि तत्काल आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् ।
उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार सभापति लामिछानेलाई भेटेर नारायणी नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै ध्यानाकर्षण गराएको हो ।
सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार व्यवसायीले नदीको दीर्घकालीन व्यवस्थापन, प्रभावकारी तटबन्धन तथा जोखिम न्यूनीकरणका लागि तत्काल प्राविधिक अध्ययन गर्न माग गरेका छन् ।
व्यवसायीले नदी कटान, हालको तटबन्धनको अवस्था र सम्भावित जोखिमको अध्ययन गर्न सम्बन्धित सरकारी निकायबाट प्राविधिक टोली तत्काल खटाउन आग्रह गरेका छन् ।
चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सभापति लामिछानेले व्यवसायीको मागपछि सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययन गराउने र त्यसका आधारमा प्रभावकारी तटबन्धन निर्माण तथा नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सभापति लामिछानेले छिट्टै प्राविधिक टोली पठाएर अध्ययन गरी आवश्यक काम अघि बढाउने आश्वासन दिनुभएको छ । ०००००












प्रतिकृया दिनुहोस