रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३ दशमलव ७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौँ, २० असोज ।
भदौ १० गते आएको रसुवा भोटेकोशी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८३÷८४ मा तीन दशमलव सात प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ । पुनर्निर्माण र पुनःस्थापनाका काम अघि बढेसँगै आगामी आर्थिक वर्ष २०८४/८५ मा आर्थिक वृद्धिदर पाँच दशमलव दुई प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि र वस्तु ढुवानीमा असर पर्ने विश्व बैंकको आकलन छ । व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधि प्रभावित हुँदा सेवा क्षेत्रसमेत कमजोर हुने जनाइएको छ ।
विश्व बैंकले पुनर्निर्माण गर्दा क्षतिग्रस्त संरचना पुनःनिर्माणमा मात्र सीमित नभई बहुविपद् जोखिमको पुनर्मूल्याङ्कन गर्न सुझाव दिएको छ । सडक, ऊर्जा, सञ्चार, खानेपानी, स्वास्थ्य र शिक्षा पूर्वाधारलाई जलवायु परिवर्तनअनुकूल तथा उत्थानशील बनाउनुपर्नेमा जोड दिइएको छ ।
यसैबीच, विश्व बैंकले चालु वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सन् २०२७ मा भने वृद्धिदर ६ दशमलव ७ प्रतिशतमा झर्ने अनुमान छ ।
विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिका लागि कृत्रिम बौद्धिकताको प्रयोग बढाउन, जनशक्तिको सीप विकास गर्न, व्यवसायमैत्री वातावरण बनाउन तथा भौतिक र डिजिटल पूर्वाधार सुधार गर्न सुझाव दिएको छ । ०००००

.jpeg)










प्रतिकृया दिनुहोस