भारतमा विपक्षी नेताहरू केही समय हिरासतमा
दिल्ली, २० असोज ।
भारतमा निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता सूची संशोधनविरुद्ध प्रदर्शनमा उत्रिएका विपक्षी नेता राहुल गान्धीसहित केही सांसदलाई प्रहरीले केही समय हिरासतमा लिएर रिहा गरेको छ ।
विपक्षी दलहरूले संसद्बाट निर्वाचन आयोगको कार्यालयतर्फ पदयात्रा सुरु गरेपछि प्रहरीले ब्यारिकेड लगाएर उनीहरूलाई रोकेको थियो । ब्यारिकेडनजिक भारतीय झण्डा लिएर उभिनुभएका काङ्ग्रेस नेता गान्धीसहित अन्य सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
निर्वाचन आयोगका प्रमुख कुमारको राजीनामा माग गर्दै विपक्षी दलहरूले शुक्रबारदेखि प्रदर्शन गर्दै आएका छन् । विपक्षी नेताहरूले निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको प्रभावमा काम गरेको आरोप लगाएका छन्। आयोगले भने मतदाता सूचीको शुद्धता र अखण्डता कायम गर्न संशोधन गरिएको भन्दै आरोप अस्वीकार गरेको छ । विपक्षी नेताहरूले मतदाता सूची संशोधनमा थप पारदर्शिता आवश्यक रहेको भन्दै परिवर्तनका कारण योग्य मतदाता मतदानको अधिकारबाट वञ्चित हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
समाचार रिपोर्टअनुसार सन् २०२५ मा संशोधन प्रक्रिया सुरु भएयता एक करोड ३० लाख नागरिकको नाम मतदाता सूचीबाट हटाइएको दाबी गरिएको छ । विपक्षी दलहरूले निर्वाचन प्रक्रियामा पारदर्शिता र मतदाताको अधिकार सुनिश्चित गर्न माग गर्दै आएका छन् । ०००००


.jpeg)
.jpeg)








प्रतिकृया दिनुहोस