सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक
पेरिस, २० असोज ।
सन् २०३० सम्म विश्वभर गुणस्तरीय शिक्षा सुनिश्चित गर्न करिब ५ करोड थप शिक्षक आवश्यक पर्ने अनुमान गरिएको छ ।
विश्व शिक्षक दिवसका अवसरमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोसहित अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्रसंघीय बाल कोष र अन्तर्राष्ट्रिय शिक्षा महासंघले जारी गरेको संयुक्त सन्देशमा यस्तो प्रक्षेपण गरिएको हो ।
सन्देशअनुसार विश्वका सबै बालबालिकालाई प्राथमिक र माध्यमिक तहसम्मको शिक्षा सुनिश्चित गर्न मात्रै ४ करोड ४० लाख थप शिक्षक आवश्यक पर्नेछ । प्रारम्भिक बालशिक्षाको पहुँच विस्तार र गुणस्तर सुधारका लागि थप ६० लाख शिक्षक आवश्यक पर्ने अनुमान छ ।
विशेषगरी विकासोन्मुख तथा न्यून आय भएका देशमा योग्य शिक्षकको अभाव गम्भीर रहेको जनाइएको छ । शिक्षकको संख्या बढाउनुका साथै उनीहरूलाई उचित तालिम, प्रतिस्पर्धात्मक पारिश्रमिक, सुरक्षित कार्यस्थल र व्यावसायिक विकासका अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ ।
नयाँ शिक्षक भर्ती गर्नुका साथै अनुभवी शिक्षकलाई पेसामा टिकाइराख्नु पनि उत्तिकै महत्वपूर्ण रहेको अन्तर्राष्ट्रिय संस्थाहरूले बताएका छन् । महिला शिक्षकलाई नेतृत्वदायी भूमिकामा समान अवसर दिन तथा युवालाई शिक्षण पेसातर्फ आकर्षित गर्न आवश्यक नीतिगत व्यवस्था गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
हरेक वर्ष अक्टोबर ५ मा मनाइने विश्व शिक्षक दिवसको यस वर्षको सन्देशले गुणस्तरीय शिक्षाका लागि पर्याप्त, दक्ष र सम्मानित शिक्षक आवश्यक रहेको स्पष्ट पारेको छ । ०००००



.jpeg)








प्रतिकृया दिनुहोस