सुपथ इन्टरनेट प्याकेज बन्द नहुने नेपाल टेलिकमको स्पष्टोक्ति

बिर्तामोड, २२ असोज । 
निजी इन्टरनेट सेवा प्रदायकले सस्ता र कम गतिको प्याकेज बिक्री बन्द गर्ने निर्णय गरेपछि इन्टरनेट शुल्क बढ्ने चर्चा भइरहेका बेला नेपाल टेलिकमले आफ्ना सुपथ मूल्यका प्याकेज यथावत् रहने जनाएको छ ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले अहिले उपलब्ध प्याकेज निरन्तर सञ्चालन हुने र मूल्य बढाउने कुनै सोच नरहेको बताउनुभयो । उहाँका अनुसार टेलिकमले वार्षिक तथा दुई वर्षका इन्टरनेट प्याकेज अन्य सेवा प्रदायकको तुलनामा सर्वसुलभ दरमा उपलब्ध गराउँदै आएको छ ।
टेलिकमले घरायसी ग्राहकलाई ५० एमबिपिएस इन्टरनेट वार्षिक आठ हजार ४९९ रुपैयाँमा उपलब्ध गराएको छ । दुई वर्षको प्याकेज एकैपटक लिँदा १४ हजार ९९९ रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै ७५ एमबिपिएसको वार्षिक शुल्क १० हजार ४९९, एक सय एमबिपिएसको ११ हजार ४९९, एक सय ५० एमबिपिएसको १२ हजार ९९९ र दुई सय एमबिपिएसको १६ हजार ४९९ रुपैयाँ रहेको छ । वार्षिक शुल्क भुक्तानी गर्दा ग्राहकले मोबाइलमा दैनिक ६ सय एमबीसम्म डाटा निःशुल्क पाउने टेलिकमले जनाएको छ । हाल टेलिकमका फाइबर इन्टरनेट ग्राहक चार लाख दुई हजारभन्दा बढी छन् ।
यसैबीच, टेलिकमले एन्ड्रोइड स्मार्ट टिभीमा सेट–टप बक्सबिनै एनटीटिभी चलाउन सकिने ‘भर्चुअल सेट–टप बक्स’ सेवा सुरु गरेको छ । ग्राहकले गुगल प्लेस्टोरबाट ‘स्मार्ट एनटीटिभी’ डाउनलोड गरी सेवा प्रयोग गर्न सक्नेछन् । नयाँ प्याकेजमा भर्चुअल सेट–टप बक्ससहितको सेवा लिँदा एक हजार रुपैयाँ छुटको व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

प्रतिकृया दिनुहोस