१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि र शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव
बिर्तामोड, २२ असोज ।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले १० वर्षभन्दा कम उमेरका बढी तौल भएका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ । नयाँ निर्देशिका सार्वजनिक गर्दै डब्लुएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिस गरेको हो ।
१० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीमा भने चिकित्सकीय निगरानीमा सञ्चालन हुने बहुआयामिक जीवनशैली सुधार कार्यक्रमबाट अपेक्षित परिणाम नआएमा मात्रै स्वीकृत औषधि प्रयोगबारे विचार गर्न सकिने डब्लुएचओले जनाएको छ ।
विशेषगरी टाइप–२ मधुमेह वा उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या देखिएका र खानपान तथा जीवनशैली सुधारबाट पर्याप्त लाभ नपाएका अवस्थामा औषधि प्रयोग गर्न सकिने जनाइएको छ ।
डब्लुएचओका अनुसार सन् २०२४ मा विश्वभर ५ देखि ९ वर्ष उमेर समूहका झण्डै सात करोड बालबालिका र १० देखि १९ वर्षका झण्डै १० करोड किशोरकिशोरी मोटोपनबाट प्रभावित थिए । डब्लुएचओले मोटोपनसँगै बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा समेत ध्यान दिन सुझाव दिएको छ ।












प्रतिकृया दिनुहोस