किशोरकिशोरीका लागि च्याटजीपीटी अझै सुरक्षित नभएको अध्ययनको निष्कर्ष
विर्तामोड, २२ असोज ।
किशोरकिशोरीले प्रयोग गर्ने च्याटजीपीटीका सुरक्षा व्यवस्था अझै पर्याप्त नभएको एक अध्ययनले देखाएको छ ।
कृत्रिम बुद्धिमत्ता कम्पनी ओपनएआईले १३ देखि १७ वर्ष उमेर समूहका लागि च्याटजीपीटी सुरक्षित बनाउन विभिन्न नयाँ व्यवस्था लागू गरेको छ । गत अगस्टदेखि लागू गरिएको व्यवस्थामा किशोरकिशोरीलाई च्याटजीपीटीसँग अत्यधिक भावनात्मक रूपमा जोडिन नदिने, यौन प्रकृतिका सामग्रीमा रोक लगाउने र लामो समयसम्म प्रयोग गर्दा विश्राम लिन सम्झाउने व्यवस्था गरिएको छ ।
ओपनएआईका अनुसार किशोरकिशोरीले च्याटजीपीटीमा दैनिक औसत १५ मिनेटभन्दा कम समय बिताउने गरेका छन्। लामो समय प्रयोग गर्नेहरूले पनि अध्ययन तथा विद्यालयको कामसँग सम्बन्धित विषयमा बढी प्रश्न गर्ने कम्पनीको दाबी छ ।
तर, गैरनाफामूलक संस्था कमन सेन्स मिडियाको नयाँ अध्ययनले च्याटजीपीटी किशोरकिशोरीका लागि अझै पनि अस्वीकार्य जोखिमयुक्त रहेको निष्कर्ष निकालेको छ । संस्थाले १८ वर्षभन्दा कम उमेरका व्यक्तिका लागि च्याटजीपीटीको प्रयोगमा रोक लगाउनसमेत सुझाव दिएको छ ।
अध्ययनअनुसार च्याटजीपीटीले किशोरकिशोरीसँग कुराकानी गर्दा साथी जस्तो वा मानवीय शैलीमा प्रस्तुत हुने अवस्था अझै देखिएको छ । किशोरकिशोरीले एआई च्याटबटलाई मानसिक तनाव, आत्महानीलगायत संवेदनशील विषयमा समेत प्रयोग गर्न थालेकाले यसको सुरक्षा चुनौती थप गम्भीर बनेको विज्ञहरूले बताएका छन् । ०००००












प्रतिकृया दिनुहोस