दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

बिर्तामोड, २२ असोज । 
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारअनुसार कार्डियक अरेस्टबाट उनको निधन भएको हो । आज बिहान ५ बजेर २० मिनेटमा उनको निधन भएको जनाइएको छ । उनलाई बचाउनका लागि ४५ मिनेटसम्म लगातार सीपीआर दिइएको थियो । नाना पाटेकर हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेतामध्ये एक थिए । उनको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा भएको थियो । उनी अभिनेता मात्र थिएनन्, फिल्म निर्माता, निर्देशक तथा लेखकका रूपमा पनि सक्रिय रहे । भारतीय सिनेमाका प्रभावशाली अभिनेतामध्ये गनिने नाना पाटेकरले आफ्नो फरक अभिनय शैली र संवाद प्रस्तुतिका कारण छुट्टै स्थान बनाए । नाना पाटेकरले सन् १९७८ मा आएको फिल्म ‘गमन’बाट हिन्दी सिनेमामा पाइला राखेका थिए । सुरुवाती चरणमा उनले मराठी र हिन्दी दुवै फिल्ममा काम गरे । सन् १९८८ मा मिरा नायरको ‘सलाम बम्बे !’मा उनको कामले प्रशंसा पायो । त्यसपछि सन् १९८९ को ‘परिन्दा’ उनको करियरको महत्वपूर्ण मोड बन्यो । फिल्ममा उनले निर्वाह गरेको ग्याङ्स्टरको भूमिकाका लागि राष्ट्रिय फिल्म पुरस्कार र फिल्मफेयर अवार्ड जिते । नाना पाटेकरले आफ्नो लामो करियरमा अनेक प्रकारका भूमिका निर्वाह गरे । ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी ः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित फिल्म हुन् । 
गम्भीर र दमदार भूमिकामा आफूलाई प्रमाणित गरेका उनले हास्य तथा व्यावसायिक फिल्ममा पनि उत्तिकै प्रभाव छाडे । ‘वेलकम’मा उदय शेट्टीको भूमिकाले उनको अर्को पक्ष दर्शकमाझ लोकप्रिय बनायो ।

प्रतिकृया दिनुहोस