मोरङमा पर्यटक भिसामा आएका २४ कोरियाली नागरिक पक्राउ
बिर्तामोड, २५ असोज ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७, मालती मार्गस्थित नेपाल न्यू कोभेनन्ट कलेजबाट २४ जना कोरियाली नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत धार्मिक प्रशिक्षण तथा गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार दिउँसो करिब साढे ३ बजे कलेजमा आयोजित धार्मिक प्रशिक्षण तथा कार्यक्रममा सहभागी भइरहेका बेला उनीहरू पक्राउ परेका हुन् । स्थानीयवासीको उजुरीपछि प्रशासनले दुई दिनदेखि निगरानी गरिरहेको थियो। अनुसन्धानका क्रममा भिसाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नियन्त्रणमा लिइएको जनाइएको छ ।
उनीहरू असोज २० र २१ गते काठमाडौँ हुँदै विराटनगर आएका थिए। असोज २५ गतेसम्म मोरङमा बस्ने कार्यतालिका रहेको बताइएको छ ।
लभ नेपाल मिसनको सहयोगमा सञ्चालित नेपाल न्यू कोभेनन्ट कलेजमा धर्मशास्त्रको अध्ययन तथा अध्यापन हुँदै आएको छ । संस्थाले प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्मको धार्मिक शिक्षा प्रदान गर्दै आएको जनाइएको छ ।
पक्राउ परेका २४ जना कोरियाली नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन विराटनगर विमानस्थल हुँदै काठमाडौँस्थित अध्यागमन विभाग पठाउने तयारी गरिएको छ ।
यसअघि विराटनगरबाट दुई जना चिनियाँ नागरिकसमेत पक्राउ परेका थिए । पछिल्ला घटनासँगै पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकको गतिविधि र भिसाको उद्देश्य पालना भए–नभएको विषयमा प्रशासनले निगरानी बढाएको छ । पक्राउ परेका कोरियाली नागरिकमाथिको अनुसन्धान र सम्भावित कानुनी कारबाहीबारे थप विवरण आउन बाँकी छ ।



-(1).jpeg)



-1758972041.jpeg)


प्रतिकृया दिनुहोस