विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा
विराटनगर, २५ असोज ।
कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा हुन लागेको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । यही असोज २७ र २८ गते आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च पदस्थ पदाधिकारीहरूको सहभागिता रहनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनमा प्रदेशहरूबीच अनुभव आदानप्रदान, हालसम्मका उपलब्धि, चुनौती र कमजोरीबारे छलफल हुने जानकारी दिनुभयो ।
सम्मेलनमा प्रदेशले कानुन निर्माणका क्रममा भोगेका समस्या, सफल अभ्यासको आदानप्रदान तथा दुई वा दुईभन्दा बढी प्रदेशबीच सहकार्य र समन्वय विस्तारका विषयमा पनि छलफल हुनेछ । यस्तै, विपद् व्यवस्थापन र प्रदेशहरूबीच साझेदारी बढाउने विषयलाई समेत प्राथमिकता दिइने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
सङ्घीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारको कार्यान्वयन, सङ्घ, प्रदेश र स्थानीय तहबीचको अधिकार तथा जिम्मेवारीको स्पष्टता, कानुनी एवं नीतिगत सुधार र वित्तीय सङ्घीयताका विषयमा गहन छलफल हुने जनाइएको छ ।
सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरूको सहभागिता रहनेछ । ०००००








-1758972041.jpeg)


प्रतिकृया दिनुहोस