विद्युत् वितरण प्रणाली भूमिगत गर्ने काममा ३० अर्बसम्म खर्च

बिर्तामोड, २६ असोज । 
नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणाली सुदृढीकरण तथा तार भूमिगत गर्ने काममा २५ देखि ३० अर्ब रुपैयाँसम्म खर्च हुने जनाएको छ । काठमाडौँ उपत्यकामा आयोजनाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।
प्राधिकरणका अनुसार काठमाडौँ उपत्यका मध्य तथा उत्तर क्षेत्रमा ९४ प्रतिशत, पूर्व तथा दक्षिण क्षेत्रमा ९७ प्रतिशत र पश्चिम क्षेत्रमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ। तर, ललितपुर–भक्तपुर क्षेत्रमा भने ६१ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
यस्तै, पोखरा र भरतपुरमा सञ्चालन भइरहेको आयोजनाको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बढ्दो विद्युत् मागलाई सम्बोधन गर्दै वितरण प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउन तार भूमिगत गर्ने काम भइरहेको छ । तर, साँघुरा सडक तथा खानेपानी, टेलिफोन र इन्टरनेटका तार र पाइपका कारण कतिपय स्थानमा काम गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो ।
एसियाली विकास बैङ्कको वित्तीय सहयोगमा सञ्चालित यो आयोजना काठमाडौँ उपत्यकामा करिब छ वर्षअघि सुरु भएको हो । कोरोना महामारीलगायत विभिन्न कारणले आयोजना सम्पन्न गर्न समय लागेको प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस