प्रहरीले पदीय अधिकार दुरुपयोग गर्न हुँदैन : महानिरीक्षक कार्की

काठमाडौँ, २६ असोज । 
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले राष्ट्रसेवक प्रहरीले व्यक्तिगत स्वार्थ र अनुचित प्रभावमा परी पदीय अधिकार दुरुपयोग गर्न नहुने बताउनुभएको छ । पदीय अधिकारको दुरुपयोगले प्रहरी सङ्गठनकै प्रतिष्ठामा आँच आउने भएकाले जिम्मेवारी निर्वाह गर्दा सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले प्रहरी नेतृत्व आदेशमा नभई उदाहरणमा देखिनुपर्ने बताउनुभयो ।
दीक्षित प्रहरी निरीक्षकलाई बधाई दिँदै उहाँले जनताप्रति नरम व्यवहार गर्न, व्यावसायिक निष्ठा कायम राख्न र पदीय मर्यादा तथा अनुशासनमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो । प्रहरीको पोसाकले परिचय दिए पनि आचरणले सङ्गठनको वास्तविक परिचय बनाउने उहाँको भनाइ थियो ।
सेवाग्राहीसँगको व्यवहार, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबल र समुदायसँगको सम्बन्धबाट प्रहरी नेतृत्वको मूल्याङ्कन हुने उहाँले बताउनुभयो । सेवाका क्रममा भय, प्रलोभन, माया र द्वेषबाट मुक्त भएर निष्पक्ष रूपमा काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
समारोहका प्रमुख अतिथि प्रधानमन्त्री वालेन्द्र शाहले सर्वोत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर डेँगालाई कुलानन्द विद्या पुरस्कार प्रदान गर्नुभयो । मुख्यसचिव गोविन्दबहादुर कार्कीले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार वितरण गर्नुभयो ।
अध्ययन विधामा चोपबहादुर डेँगा, शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धिमा गोपाल राई, प्रहरी युक्ति तथा कारबाहीमा रामकुमार जिटी, चाँदमारीमा विकासकुमार धामी, सर्वद्वितीयमा बालकृष्ण पोखरेल र सर्वतृतीयमा विशाल पौडेल पुरस्कृत हुनुभयो ।
दीक्षान्त समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित हुनुभएको छ । उहाँहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले शपथ गराउनुभएको थियो । ०००००
 

प्रतिकृया दिनुहोस