पेसागत सफलताको आधार नैतिकता र इमानदारी हो : प्रधानमन्त्री शाह

काठमाडौँ, २६ असोज । 
प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारी पहिलो सर्त भएको बताउनुभएको छ । उहाँले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै पेसागत आचरण, अनुशासन र जवाफदेहिता कायम राख्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान, प्रचलित कानुन, नियम र कार्यविधिको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकको स्वतन्त्रताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको उहाँले बताउनुभयो । जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी भेदभावरहित ढङ्गले कर्तव्य पूरा गर्न उहाँले निर्देशन दिनुभयो ।
प्रधानमन्त्री शाहले सूचना प्रविधिको उचित प्रयोगबाट प्रहरीको काम छिटो, सहज, पारदर्शी र प्रभावकारी बनाउन सकिने बताउनुभयो । अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक तथा प्रविधिमैत्री अनुसन्धानका लागि सूचना प्रविधिको सदुपयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। प्रहरी सङ्गठनमा सहकार्य र समन्वयका साथ जिम्मेवारी पूरा गर्न आग्रह गर्दै प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । प्रहरी सेवामा आबद्ध रहन प्रेरणा दिने परिवारजनप्रति पनि उहाँले आभार व्यक्त गर्नुभयो ।
समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित हुनुभएको थियो । ०००००
 

प्रतिकृया दिनुहोस