चौथो टी–२० मा वेस्ट इन्डिजसँग भारत २४ रनले पराजित 

बिर्तामोड, २९ असोज । 
 चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजले भारतलाई २४ रनले पराजित गरेको छ । जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृङ्खला बराबरीमा पु¥याएको छ ।
हैदराबादमा हिजो भएको खेलमा वेस्ट इन्डिजले दिएको २४८ रनको लक्ष्य पछ्याएको भारत १९ ओभर तीन बलमा २२३ रनमा समेटिएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले तीन विकेटको क्षतिमा २४७ रन बनाएको थियो । कप्तान शाई होपले ५० बलमा अविजित १०२ रन बनाउनुभयो । उहाँले नौ छक्का र चार चौका प्रहार गर्नुभयो । शेरफेन रदरफोर्डले अविजित ४९, शिमरोन हेटमायरले ३३ र रोभमन पावेलले २४ रन बनाउनुभयो ।
भारतका लागि सञ्जु सामसनले ५६, तिलक वर्माले ४३ र नितिश कुमार रेड्डीले ४१ रन बनाउनुभयो । बलिङतर्फ वेस्ट इन्डिजका केमो पलले पाँच र गुडाकेश मोतीले दुई विकेट लिनुभयो ।
शतक बनाएका शाई होप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजका लागि तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बन्नुभएको छ । केमो पलले पनि आफ्नो दोस्रो पाँच विकेटको उपलब्धि हासिल गर्नुभयो ।
अब शृङ्खलाको विजेता पाँचौँ तथा निर्णायक खेलबाट तय हुनेछ । दुवै टोलीबीचको अन्तिम खेल शनिबार बैङ्गलुरुस्थित एम. चिन्नास्वामी रङ्गशालामा हुनेछ । 

प्रतिकृया दिनुहोस