बैंकको गैरबैंकिङ सम्पत्ति ५६ अर्ब ८४ करोड रुपैयाँ पुग्यो 

काठमाडौँ, ३१ असोज । 
बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति एक वर्षमा १२ दशमलव ४४ प्रतिशतले बढेर ५६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा र धितोमा राखिएका सम्पत्ति बिक्री गर्न नसक्दा बैंकहरूको स्रोत व्यवस्थापनमा दबाब बढिरहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ भदौमा ५० अर्ब ५५ करोड १० लाख रुपैयाँ रहेको गैरबैंकिङ सम्पत्ति २०८३ भदौसम्ममा ६ अर्ब २८ करोड ९० लाख रुपैयाँले बढेको हो ।
कुल गैरबैंकिङ सम्पत्तिमध्ये वाणिज्य बैंकको हिस्सा सबैभन्दा बढी छ । भदौ मसान्तसम्म वाणिज्य बैंकसँग ४७ अर्ब ६९ करोड ६० लाख, विकास बैंकसँग पाँच अर्ब ८४ करोड २० लाख र वित्त कम्पनीसँग तीन अर्ब ३० करोड २० लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति रहेको छ ।
यसैबीच, बैंक तथा वित्तीय संस्थाको खराब कर्जा कुल कर्जाको पाँच दशमलव ६६ प्रतिशत पुगेको छ । वित्त कम्पनीको खराब कर्जा सबैभन्दा बढी नौ दशमलव ८९ प्रतिशत, विकास बैंकको पाँच दशमलव ७७ प्रतिशत र वाणिज्य बैंकको पाँच दशमलव ५६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकको खराब कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत पुस मसान्तभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको थियो । तर, आवश्यक कानुनको मस्यौदा अझै अर्थ मन्त्रालय पुग्न नसकेकाले निर्धारित समयभित्र कम्पनी स्थापना हुनेमा अन्योल देखिएको छ ।
राष्ट्र बैंकका अनुसार कम्पनीसम्बन्धी विधेयकको मस्यौदा अन्तिम रूप दिने काम भइरहेको छ । मस्यौदा मन्त्रालय पुगेपछि पनि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले कम्पनी स्थापनामा ढिलाइ हुने जोखिम छ ।
सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकको स्वामित्वमा आएका घरजग्गा तथा अन्य सम्पत्ति व्यवस्थापन गर्नुका साथै समस्यामा परेका व्यवसायको पुनर्संरचना र पुनः सञ्चालनमा समेत सहयोग गर्न सक्ने अपेक्षा गरिएको छ । यद्यपि, कम्पनी स्थापना हुँदैमा बैंकिङ क्षेत्रका सबै समस्या तत्काल समाधान नहुने जानकारहरूले बताएका छन् । ०००००
 

प्रतिकृया दिनुहोस