चाडपर्व बेला किनमेलमा नक्कली नोटको जोखिम

बिर्तामोड, २ कातिक । 
दसैं–तिहार तथा चुनावका बेला बजारमा नगद कारोबार र भीडभाड बढ्ने भएकाले नक्कली नोटको कारोबार हुन सक्ने जोखिमप्रति सतर्क रहन नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालले विशेषगरी ठूला दरका नोट कारोबार गर्दा सावधानी अपनाउन सुझाव दिनुभएको छ । उहाँले नक्कली नोटको जोखिमबाट जोगिन क्यूआर कोड तथा अन्य डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नु सुरक्षित हुने बताउनुभयो । नगद कारोबार गर्नुपर्ने अवस्थामा शंका लागेको नोटलाई आफूसँग भएको सक्कली नोटसँग तुलना गरेर जाँच्न सकिने उहाँको भनाइ छ ।
सक्कली र नक्कली नोट छुट्याउन नोटलाई हेर्ने, छाम्ने र ढल्काएर जाँच्ने गर्नुपर्छ। सक्कली नोटको कागज केही खस्रो हुन्छ भने छपाइ स्पष्ट हुन्छ । उज्यालोमा राख्दा पानी छापमा लालीगुराँसको आकृति देखिन्छ र सुरक्षण धागोमा अंग्रेजी अक्षरमा ‘एनआरबी’ लेखिएको हुन्छ ।
नक्कली नोटमा पानी छाप स्पष्ट नदेखिने, कागज चिप्लो हुने र छपाइको गुणस्तर कमजोर हुने सम्भावना रहन्छ । त्यसैले बजारमा हतारमा नगद लिँदा नोट नजाँची स्वीकार नगर्न राष्ट्र बैंकले सुझाव दिएको छ । 
 

प्रतिकृया दिनुहोस