नवरात्रको फूलपाती, शक्तिपीठमा भक्तजनको घुइँचो
काठमाडौँ, ३१ असोज ।
बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । नवरात्रको विशेष दिन भएकाले पूजा, आराधना र दर्शनका लागि मन्दिर पुग्ने भक्तजनको सङ्ख्या बढेको हो ।
काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बङ्गलामुखीलगायत शक्तिपीठमा भक्तजनको लाम लागेको छ । मन्दिरहरूलाई ध्वजापताकाले सजाइएको छ भने देवीका भजन र मालश्री धुनले धार्मिक वातावरण थप उल्लासमय बनेको छ ।
उपत्यकाबाहिरका पाथीभरा, छिन्नमस्ता, मनकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरी र उग्रतारालगायत देवी मन्दिरमा पनि भक्तजनको भीड बढेको छ । नवरात्रका अवसरमा शक्तिपीठको दर्शन र देवीको आराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
यसैबीच, दसैँका लागि किनमेल गर्नेको चहलपहल बजारमा बढेको छ । काठमाडौँ उपत्यकाबाट आफ्नो थातथलो फर्किने यात्रुको सङ्ख्या पनि बढिरहेको छ ।
तर, सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राखिँदा घर फर्किने यात्रुले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । बाढीपहिरोका कारण केही जिल्लामा सडक तथा पुलमा क्षति पुगेपछि यात्रामा थप कठिनाइ भएको छ । प्रभावितमध्ये धेरै स्थानमा वैकल्पिक व्यवस्था गरिएको जनाइएको छ । ०००००









प्रतिकृया दिनुहोस