हनुमानढोकाको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्राइयो

काठमाडौँ, ३१ असोज । 
बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा गोरखा दरबारबाट ल्याइएको फूलपाती हर्षोल्लासका साथ भित्राइएको छ ।
गोरखा दरबारबाट बिहान बाजागाजासहित डोलीमा राखेर पठाइएको फूलपाती काठमाडौँको जमलसम्म ल्याइएको थियो। त्यहाँबाट नेपाली सेनासहितको टोलीले वसन्तपुर पु¥याएपछि विधिपूर्वक दसैँघरमा भित्राइएको हो । 
पहिले धादिङको जीवनपुर र नुवाकोट हुँदै पैदल फूलपाती ल्याउने परम्परा रहेकामा २०६६ सालदेखि मोटरबाटो प्रयोग गर्न थालिएको हो । हनुमानढोकाको दसैँघरमा फूलपाती भित्राएसँगै दसैँको रौनक थप बढ्ने धार्मिक तथा सांस्कृतिक विश्वास छ ।
यसैबीच, फूलपातीका अवसरमा काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले विशेष बढाइँ समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साहलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै राइफल र तोपबाट बढाइँ प्रस्तुत गरिएको थियो । सैनिकहरूले विभिन्न कला तथा कौशलसमेत प्रदर्शन गरेका थिए ।
हरेक वर्ष फूलपातीका दिन आयोजना गरिने यस समारोहले नेपाली सेनाको परम्परा र दसैँको सांस्कृतिक महत्वलाई झल्काउने गरेको छ । ०००००
 

प्रतिकृया दिनुहोस