महँगी र जीवनयापनको लागतविरुद्ध फ्रान्सभर प्रदर्शन


बिर्तामोड, १ कात्तिक । 
बढ्दो महँगी र जीवनयापनको लागतविरुद्ध फ्रान्सभर राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु भएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनको उत्तराधिकारी चयनका लागि आगामी अप्रिल र मे महिनामा हुने राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा भएका प्रदर्शनलाई देशको सामाजिक तथा राजनीतिक अवस्थाको महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ ।
आयोजकहरूले शिक्षक, विद्यार्थी, मजदुर, पेन्सनभोगी र किसानलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । देशभर ६ सयभन्दा बढी स्थानमा प्रदर्शन आयोजना गर्ने योजना रहेको जनाइएको छ ।
प्रदर्शनका क्रममा दक्षिणी सहर मार्सेमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । पेरिसमा प्रहरीले बिहानै करिब ६० जनालाई नियन्त्रणमा लिएको छ । त्यहाँ प्रदर्शनकारीले दक्षिणपन्थी टेलिभिजन संस्था सी–न्युजको मुख्यालयमा तोडफोडसमेत गरेका छन् ।
प्रदर्शनकारीले शिक्षा क्षेत्रमा पर्याप्त स्रोतसाधनको अभाव र प्रहरी दमनको पनि विरोध गरेका छन् । यसअघि विद्यार्थी आन्दोलनका क्रममा भएको प्रहरी बल प्रयोगको अधिकारवादी समूहहरूले आलोचना गरेका थिए ।
यसैबीच, राष्ट्रपति म्याक्रोनले प्रदर्शनको अधिकारको सम्मान गर्न आग्रह गर्दै शान्ति कायम राख्न र व्यक्ति तथा सम्पत्तिको सुरक्षा गर्न आह्वान गर्नुभएको छ । सर्वेक्षणअनुसार करिब ४५ प्रतिशत फ्रान्सेली नागरिकले जीवनयापनको खर्च र मुद्रास्फीतिलाई प्रमुख चिन्ताका रूपमा लिएका छन् । 

प्रतिकृया दिनुहोस