दसैँ मनाउन उपत्यका छाड्ने सङ्ख्या पाँच लाख नजिक
काठमाडौँ, १ कात्तिक ।
बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ ।
घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार तीन सय २३ जना यात्रुले उपत्यका छाडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेको हो । यद्यपि, अघिल्ला दुई दिनको तुलनामा आज बाहिरिने यात्रुको सङ्ख्या केही घटेको उहाँले जानकारी दिनुभयो ।
दसैँ मनाउन घर जाने यात्रुको चाप गोँगबुस्थित नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा देखिएको छ ।
यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन् ।
दसैँ मनाउन गाउँघर फर्किने यात्रुको सङ्ख्या बढेसँगै उपत्यकाका मुख्य बसपार्क र बाहिरिने नाकाहरूमा चहलपहल बढेको छ । ०००००











प्रतिकृया दिनुहोस