नेपालका तीन जलवायु अनुकूलन परियोजना स्वीकृत
बिर्तामोड, ७ कार्तिक ।
अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले नेपालका तीनवटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ । कोषका बोर्ड सदस्य नरेश शर्माका अनुसार स्वीकृत परियोजनाले जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको उत्थानशीलता बढाउन, प्रकृतिमा आधारित समाधान प्रवद्र्धन गर्न तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग पु¥याउनेछन् ।
बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रीन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलरको अवधारणापत्र स्वीकृत गरेको छ । परियोजनाले प्रकृतिमा आधारित समाधानमार्फत जलवायु उत्थानशीलता बढाउनुका साथै पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिनेछ ।
त्यस्तै, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले कार्यान्वयन गर्ने हिन्दुकुश हिमालय क्षेत्रमा अनुकूलन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्ने ‘सेफ निब’ परियोजनाको ३० करोड अमेरिकी डलर प्रस्तावित बजेटसहित पूर्वअवधारणापत्र स्वीकृत भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रमले लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा प्रकृतिमा आधारित जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने परियोजनाका लागि करिब ४९ लाख ९९ हजार अमेरिकी डलरको अवधारणापत्र पनि स्वीकृत गरेको छ । यसैबीच, भोटेकोशी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्ने विषय आगामी वैशाखमा हुने बोर्ड बैठकमा छलफल गरिने भएको छ । समय अभावका कारण यसपटक निर्णय हुन नसकेको उक्त विषयलाई आगामी बैठकको कार्यसूचीमा समावेश गरिएको जनाइएको छ ।









प्रतिकृया दिनुहोस