बेनी–दरवाङ सडक खुलेको केही घण्टामै पुनः अवरुद्ध
बिर्तामोड, ७ कार्तिक ।
म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा पालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि खुलेको केही घण्टामै पुनः अवरुद्ध भएको छ । फापरखेतमा पहिरो खसेपछि हिजो बिहानदेखि सञ्चालनमा आएको सडक पुनः बन्द भएको हो। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार पहिरोका कारण सडकमा सीधा यातायात सेवा अवरुद्ध भएको छ ।
रातको समयमा पहिरोको जोखिम बढी हुने भएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको उहाँले बताउनुभयो । आज बिहान पहिरो पन्छाएर सडक खुलाउने काम गरिने उहाँले जानकारी दिनुभयो ।
फापरखेत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्छ। उक्त क्षेत्रमा गत असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि सडक अवरुद्ध हुँदै आएको छ । २४ किलोमिटर लामो बेनी–दरवाङ सडक मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग हो ।
लगातारको पहिरोका कारण सडक अवरुद्ध हुँदा दसैँ मनाउन आउने–जाने यात्रु तथा अन्य सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।









प्रतिकृया दिनुहोस