सरकारको कार्यशैली शक्तिको स्वेच्छाचारी प्रयोग भएको कांग्रेस सभापति थापाको ठहर 

काठमाडौँ, १५ कात्तिक ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका पछिल्ला गतिविधिमाथि प्रश्न उठाउँदै केही सीमित व्यक्तिले आफूलाई नै राज्य ठान्ने प्रवृत्ति देखिएको बताउनुभएको छ । सरकारमा बसेका व्यक्तिहरूले आफ्नो इच्छालाई नै कानुन ठान्न थालेको भन्दै उहाँले राज्यशक्तिको स्वेच्छाचारी प्रयोगप्रति चिन्ता व्यक्त गर्नुभयो । 
कांग्रेस पार्टी कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा सभापति थापाले पत्रकार पक्राउ प्रकरण केही व्यक्ति पक्राउ परेर रिहा हुँदैमा समाप्त नहुने बताउनुभयो । यो घटनाले सरकारले आफ्नो अधिकार र अभिव्यक्ति स्वतन्त्रतालाई कसरी बुझेको छ भन्ने गम्भीर प्रश्न उठाएको उहाँको भनाइ थियो ।
प्रहरीका पछिल्ला गतिविधि माथिल्लो तहको निर्देशनमा भएको दाबी गर्दै थापाले सञ्चारमाध्यमका समाचार हेरेर पत्रकार पक्राउ गर्न आदेश दिइएको हुन सक्ने टिप्पणी गर्नुभयो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले घटनाबारे गलत भएको भन्दै वक्तव्य जारी गरे पनि त्यो पर्याप्त नहुने बताउनुभयो । यसअघि पनि सञ्चारमाध्यमको प्रवेशद्वारमा गाडी पार्क गरिएको घटनामा रास्वपाले वक्तव्य जारी गरेको स्मरण गर्दै उहाँले त्यसपछि कुनै कारबाही नभएको भन्दै प्रश्न गर्नुभयो ।
थापाले सरकारको जवाफदेहिता र कारबाहीको परिणाम आफूहरूको अपेक्षा भएको स्पष्ट पार्नुभयो । उहाँले रास्वपालाई संसदीय दलमार्फत प्रधानमन्त्रीलाई यस विषयमा जवाफ दिन लगाउनसमेत आग्रह गर्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस