नेपालमा वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड
बिर्तामोड, १६ कार्तिक ।
ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापना गर्ने सङ्कल्पलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३ आयोजना गरिने भएको छ । महायज्ञको तयारीबारे जानकारी दिन आयोजित कार्यक्रममा वक्ताहरूले नेपालको प्राचीन वैदिक ज्ञान, सनातन संस्कृति र आध्यात्मिक परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि वैदिक विश्वविद्यालय आवश्यक रहेको बताउनुभयो । सांसद सुशील खड्काले राष्ट्रको जग संस्कृति र सनातन परम्परा भएकाले यसको पुनर्जागरणका लागि विशिष्टीकृत वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालय स्थापनाका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्यले वैदिक ज्ञानका क्षेत्रमा नेपाल विश्वकै गुरु देश बन्न सक्ने आधार रहेको बताउनुभयो । उहाँले विश्वविद्यालय स्थापनाका लागि गैँडाकोटमा आनन्दराज भण्डारीले एक करोड रुपैयाँबराबरको जग्गा दान गर्नुभएको जानकारी दिनुभयो । पूर्वमुख्यसचिव वैकुण्ठ अर्याल, पूर्वसचिव गणेशप्रसाद पाण्डेयलगायत वक्ताहरूले वैदिक शिक्षा, आध्यात्मिक चेतना र नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व विश्वभर फैलाउन विश्वविद्यालय आवश्यक रहेको धारणा राख्नुभयो । महायज्ञ सम्पन्न गर्न एक हजार आठ सदस्यीय मूल समिति गठन गरिएको आयोजकले जनाएको छ।








.jpeg)


प्रतिकृया दिनुहोस