मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा दायर
जनकपुरधाम, १९ कात्तिक ।
मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ उद्योगी व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमन तथा नमुना परीक्षणका क्रममा कैफियत भेटिएपछि उनीहरूविरुद्ध सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो ।
कार्यालयका प्रमुख विमलकुमार दाहालका अनुसार मुद्दा दायर गरिएकामध्ये बारा र पर्साका आठ, सप्तरी र सिरहाका तीन, महोत्तरीका दुई तथा धनुषाका एक व्यवसायी छन् । उनीहरूविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही अघि बढाइएको उहाँले बताउनुभयो ।
खाद्यवस्तुमा मिसावट गर्ने, म्याद गुज्रिएका सामग्री बिक्री गर्ने, खाद्य स्वच्छता कायम नगर्ने तथा स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु उत्पादन र बिक्री गर्ने व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हो ।
तीन महिनाको अवधिमा प्रदेशका विभिन्न जिल्लाबाट खाद्य तथा दाना पदार्थका १६४ नमुना सङ्कलन गरी परीक्षण गर्दा पाँच वटाको नतिजा प्रतिकूल देखिएको थियो । यस्तै, ६३२ खाद्य व्यवसायमा अनुगमन गर्दा ५६ उद्योगमा कैफियत भेटिएको र उपभोक्ता संरक्षण ऐनअनुसार १८ लाख २६ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
यस अवधिमा २०५ खाद्य तथा दाना उद्योग र १९५ होटल, रेस्टुरेन्ट तथा क्यान्टिनमा अनुगमन गरिएको थियो । उपभोक्ताबाट प्राप्त २७ वटा उजुरीसमेत सम्बोधन गरिएको प्रमुख दाहालले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका, लेबल विवरण नभएका, सडेगलेका तथा उपभोगका लागि अयोग्य खाद्यवस्तु जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ । ०००००












प्रतिकृया दिनुहोस