चुमनुब्रीका विकट बस्तीमा नुन प्रतिप्याकेट २०० रुपैयाँ
गोरखा, २० कात्तिक ।
बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने नुन गोरखाको उत्तरी भेगका विकट बस्तीमा भने दुई सय रुपैयाँसम्म पर्ने गरेको छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानी खर्च बढेपछि चुमनुब्री गाउँपालिकाका बासिन्दा महँगो मूल्यमा नुन किन्न बाध्य भएका हुन् ।
मनास्लु क्षेत्रका सामागाउँ र साम्दोमा एक प्याकेट आयो नुनको दुई सय रुपैयाँ तिर्नुपर्ने अवस्था छ । पाङसिङबाट खच्चडमार्फत साम्दोसम्म नुन पु¥याउँदा प्रतिकिलो एक सय रुपैयाँ ढुवानी भाडा लाग्ने स्थानीय निमा दोर्जेले बताउनुभयो ।
त्यस्तै, ल्हो गाउँमा एक प्याकेट नुनको एक सय ५०, बिहीमा एक सय, प्रोकमा एक सयदेखि एक सय ७० तथा चुम उपत्यकाका छुले र निलेमा एक सय ८० देखि दुई सय रुपैयाँसम्म पर्ने गरेको छ ।
सरकारले विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियतमा नुन उपलब्ध गराउन ढुवानी अनुदान दिँदै आए पनि त्यसको लाभ सबै बस्तीमा पुग्न सकेको छैन । साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि तीन सय ५० क्विन्टल आयो नुन पठाएको जनाएको छ ।
कर्पोरेसनका गण्डकी प्रदेश प्रमुख सागर सेरचनका अनुसार पोखराबाट सिर्दिबाससम्म नुन ढुवानी गर्ने ठेकेदारलाई सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ । तर, सिर्दिबासबाट सामागाउँ, साम्दो र छेकम्पारलगायतका बस्तीमा पु¥याउन थप ढुवानी खर्च लाग्ने भएकाले त्यहाँका बासिन्दाले महँगो मूल्य तिर्नुपरेको हो ।
चुमनुब्री गाउँपालिकाका सात वडामध्ये सडक सञ्जाल पुगेको सिर्दिबासबाहेक अन्य ६ वडा अझै सडक पहुँचबाट टाढा छन् । मोटर पाङसिङसम्म मात्र पुगेको छ भने त्यसभन्दा माथिका बस्तीमा खाद्यान्न ढुवानीको मुख्य साधन खच्चड रहेको छ ।
सडक विस्तारमा बजेट अभाव र स्रोत सुनिश्चितताको समस्या देखिएको छ । सडक पहुँच विस्तार हुन नसक्दा उत्तरी गोरखाका बासिन्दाले नुनजस्ता अत्यावश्यक दैनिक उपभोग्य वस्तुसमेत चर्को मूल्यमा खरिद गर्नुपर्ने बाध्यता कायमै छ । ०००००






.jpeg)




प्रतिकृया दिनुहोस