तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धनमा जोड
काठमाडौँ, २१ कात्तिक ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले तिहार विशेष रैथाने मेला सुरु गरेको छ ।
थापाथलीस्थित कम्पनीको कार्यालय परिसरमा आजदेखि सुरु भएको मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक शाहले उद्घाटन गर्नुभयो । कात्तिक २३ गतेसम्म सञ्चालन हुने मेलामा तिहार तथा छठ पर्वमा प्रयोग हुने परम्परागत खाद्यवस्तु, कृषि उपज, सांस्कृतिक तथा हस्तकलाका सामग्री र अन्य स्वदेशी उत्पादनको प्रदर्शनी तथा बिक्री भइरहेको छ ।
कम्पनीका प्रवक्ता माधव मिश्रका अनुसार स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, नेपाली उद्यमी तथा उत्पादकलाई प्रोत्साहन गर्ने र स्वदेशी वस्तुको उपभोग बढाउने उद्देश्यले मेला आयोजना गरिएको हो ।
तीन दिनका लागि सुरु गरिएको मेलालाई आगामी दिनमा प्रत्येक शनिबार र आइतबार नियमित बजारका रूपमा सञ्चालन गर्ने तयारीसमेत गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले स्थानीय उत्पादनको उपयोग र नेपाली उद्यमलाई प्रोत्साहन गर्न सर्वसाधारणलाई मेलामा सहभागी हुन आह्वान गरेको छ । ०००००






.jpeg)




प्रतिकृया दिनुहोस