तिहारमा सयपत्री र मखमली फूलको मूल्य बढ्यो

भक्तपुर, २१ कात्तिक । 
तिहार नजिकिएसँगै सयपत्री र मखमली फूलको माग तथा मूल्य बढेको छ । व्यापारी र बिचौलिया किसानको घरदैलोमै पुगेर फूल तथा माला खरिद गर्न थालेपछि बजारमा मूल्य वृद्धि भएको हो ।
भक्तपुरको गुण्डु र ताथली क्षेत्रमा व्यापारीले किसानबाट मखमली फूलको माला प्रतिगोटा ३० देखि ३५ रुपैयाँसम्ममा खरिद गर्न थालेका छन् । बजारमा भने त्यही माला ८० देखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
गुण्डुका पुष्प व्यवसायी प्रमिला घतानीका अनुसार तिहारका कारण फूलमालाको माग बढेको छ । स्थानीय किसानले फूलखेती र माला बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन् । गुण्डुबाट मात्रै वार्षिक पाँच करोड रुपैयाँभन्दा बढीको फूल तथा माला बिक्री हुने गरेको छ ।
यसैगरी, सयपत्री फूलको मूल्य पनि बढेको छ । किसानले चारदेखि पाँच वटा फूलको मुठा २० देखि २५ रुपैयाँमा बिक्री गरिरहेका छन् भने बजारमा सयपत्री फूल प्रतिकिलो ४०० देखि ५०० रुपैयाँसम्म पुगेको छ ।
पुष्प व्यवसायीका अनुसार लामो वर्षा र झरीका कारण खुला ठाउँमा लगाइएको सयपत्री फूल नष्ट भएपछि उत्पादन घटेको छ । टनेलमा उत्पादन भएको फूल मात्रै बजारमा आउँदा मूल्य बढेको हो ।
तिहारमा फूलको माग बढेसँगै किसानको आम्दानी बढे पनि व्यापारीले किसानबाट खरिद गरेको मूल्यभन्दा दोब्बरदेखि तेब्बरसम्ममा बिक्री गर्दा उपभोक्ता भने मारमा परेका छन् । ०००००
 

प्रतिकृया दिनुहोस