चाररातेमा पर्यटकको घुइँचो, दैनिक पाँच सयसम्म पुग्दै

बिर्तामोड, ६ मंसिर । 
पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको आकर्षण बढेको छ। नेपाल र भारतका विभिन्न क्षेत्रबाट दैनिक तीन सयदेखि पाँच सय जनासम्म पर्यटक चारराते पुग्न थालेका छन् । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा रहेको चाररातेबाट कञ्चनजङ्घा, कुम्भकर्णसहित नेपाल, भारतको सिक्किम र भुटानका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। यहाँबाट देखिने आकर्षक सूर्यास्त, चौँरी तथा भेडीगोठ र फराकिला पाटनले पर्यटकलाई लोभ्याउने गरेका छन् । फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष शिल्प साम्पाङ राईका अनुसार चौँरी महोत्सव, ‘उनको स्वीटर’ चलचित्रको छायाङ्कन तथा सामाजिक सञ्जालमा भएको प्रचारले चाररातेको लोकप्रियता बढाएको हो । यहाँको झन्डा पोखरी, जलजले पोखरी र भैँसेपोखरी पनि पर्यटकका आकर्षण बनेका छन् । फिदिमबाट प्राङबुङ हुँदै तथा इलामको सन्दकपुरबाट चारराते पुग्न सकिन्छ। कात्तिक र मङ्सिर महिना भ्रमणका लागि उपयुक्त मानिन्छ । पर्यटकको आगमन बढेसँगै स्थानीयमा पर्यटन व्यवसाय फस्टाउने आशा पलाएको छ। तर सीमित घरबास, खानेपानी, विद्युत्, सडक र फोहरमैला व्यवस्थापनको समस्या चुनौतीका रूपमा देखिएको छ । हालै ‘कलेजी उनको स्वीटर–२’ चलचित्रको छायाङ्कनसमेत भएको यस क्षेत्रमा थप पूर्वाधार विकास गर्न सके पर्यटनबाट स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस