शर्त नमाने फेरि युद्ध हुने अमेरिकालाई इरानको चेतावनी 

इरान, ४ मंसिर ।
इरानले अमेरिकालाई आफ्ना शर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ ।
युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै इरानले आफूमाथि कुनै पनि नयाँ आक्रमण भए कडा प्रतिकार गर्ने जनाएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ । 
इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले इरान सबै प्रकारका सैन्य परिस्थितिको सामना गर्न तयार रहेको बताउनुभएको छ । पछिल्लो द्वन्द्वपछि इरानको सैन्य क्षमता थप विस्तार भएको र अमेरिकी सैन्य गतिविधिमाथि निरन्तर निगरानी भइरहेको उहाँको दाबी छ ।
मोहेबीले युद्धको विषय सधैँका लागि टुङ्ग्याउनुपर्ने भन्दै अमेरिकाले इरानका शर्त स्वीकार गर्नुपर्ने बताउनुभएको छ । उहाँले आफ्नो देशविरुद्ध शत्रु पक्षबाट जस्तोसुकै कारबाही भए पनि त्यसको जवाफ कम्तीमा तीन गुणा शक्तिका साथ दिइने चेतावनी दिनुभएको छ ।
उहाँका अनुसार १२ दिने युद्धपछि इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली बलियो बनाएको छ । स्वदेशमै कम्तीमा तीन नयाँ प्रतिरक्षा प्रणाली विकास गरेको र चार हजार पाँच सय किलोमिटरसम्मको क्षेप्यास्त्र प्रहार क्षमता प्रदर्शन गरिसकेको उहाँको दाबी छ ।
मोहेबीले पर्सियन खाडीमा अमेरिकी युद्धपोतको उपस्थिति घटेको र अमेरिकी सैन्य जहाजलाई क्षेत्रबाट पाँच सयदेखि सात सय किलोमिटर टाढा राखिएको दाबीसमेत गर्नुभएको छ । 
इरानले आफ्नो भूमिविरुद्ध आक्रमण गर्न कुनै देशले आफ्नो भूभाग प्रयोग गर्न दिए त्यसलाई पनि प्रतिशोधको निशाना बनाउने चेतावनी दिएको छ । इरानी बाँध तथा नागरिक पूर्वाधारमाथि आक्रमण भए त्यसको जवाफ दिने उहाँको भनाइ छ ।
यस वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चुलिएको थियो । त्यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडालाई क्षेप्यास्त्र तथा ड्रोनबाट निशाना बनाएको थियो ।
अप्रिल ८ मा युद्धविराम लागू भए पनि आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी वार्तामा प्रगति हुन सकेको छैन । यही अवस्थालाई लक्षित गर्दै इरानले अहिलेको युद्धविरामलाई स्थायी शान्तिका रूपमा स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ । ०००००
 

प्रतिकृया दिनुहोस