शिक्षित भए पनि युवालाई रोजगारी र आर्थिक आत्मनिर्भरतामा चुनौती
विर्तामोड, ५ मंसिर ।
विगतका पुस्ताको तुलनामा अहिलेका युवा बढी शिक्षित भए पनि रोजगारी, आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न कठिनाइ भोगिरहेको संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदनले देखाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले सार्वजनिक गरेको सन् २०२६ को विश्व जनसङ्ख्या प्रतिवेदनले युवाका आकांक्षा र उनीहरूका लागि उपलब्ध अवसरबीचको खाडल फराकिलो हुँदै गएको उल्लेख गरेको छ ।
प्रतिवेदनअनुसार विश्वभर ७८ प्रतिशत बालबालिकाले तल्लो माध्यमिक शिक्षा र ६२ प्रतिशतले माथिल्लो माध्यमिक शिक्षा पूरा गर्ने गरेका छन् । त्यस्तै, ४४ प्रतिशत युवा उच्च शिक्षामा प्रवेश गर्ने गरेका छन् । यी दर अहिलेसम्मकै उच्च हुन् । तर, प्रत्येक पाँचमध्ये एक युवा रोजगारी, शिक्षा वा तालिममध्ये कुनैमा पनि संलग्न छैनन् ।
न्यून आय भएका देशमा प्रत्येक पाँचमध्ये एक युवा वयस्कले मात्र सुरक्षित तलबसहितको रोजगारी पाउने गरेका छन् । त्यस्तै, १५ देखि २४ वर्ष उमेर समूहका युवती रोजगारी, शिक्षा वा तालिमबाट बाहिर रहने सम्भावना पुरुषको तुलनामा दोब्बरभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।
७३ देश तथा क्षेत्रका १८ देखि ३९ वर्ष उमेर समूहका एक लाखभन्दा बढी युवामा गरिएको सर्वेक्षणले आर्थिक असुरक्षाका कारण विवाह र सन्तान जन्माउने चाहनासमेत प्रभावित भएको देखाएको छ ।
सर्वेक्षणमा सहभागी ७० प्रतिशतले विवाहलाई आदर्श सम्बन्ध मानेका छन् भने ९१ प्रतिशतले कम्तीमा एक सन्तान चाहेको बताएका छन् । तर, ५७ प्रतिशतले जीवनसाथी खोज्न र ७२ प्रतिशतले सन्तान जन्माउन आर्थिक असुरक्षालाई प्रमुख बाधक मानेका छन् ।
प्रतिवेदनले युवाको राजनीतिक सहभागिता कमजोर रहेको तथ्यसमेत औँल्याएको छ । विश्व जनसङ्ख्याको १९ प्रतिशत हिस्सा ३० वर्ष वा सोभन्दा कम उमेरका व्यक्तिको भए पनि विश्वभरका संसदमा उनीहरूको प्रतिनिधित्व २ दशमलव ८ प्रतिशत मात्रै छ । यूएनएफपीएका कार्यकारी निर्देशक डिएन केइटाले आर्थिक असुरक्षा, महँगो आवास, द्वन्द्व र सामाजिक बहिष्करणले युवाका आकांक्षा पूरा गर्न कठिन बनाएको बताउनुभएको छ ।
युवाको भविष्य सुनिश्चित गर्न स्वास्थ्य, शिक्षा, मर्यादित रोजगारी र सामाजिक सुरक्षामा लगानी बढाउन तथा नीति निर्माण र निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न प्रतिवेदनले सरकारहरूलाई आह्वान गरेको छ । ०००००












प्रतिकृया दिनुहोस