भारत–पाकिस्तान तनावपछि पहिलोपटक पाकिस्तानी मन्त्री नयाँ दिल्लीमा

दिल्ली, ४ मंसिर ।
भारत र पाकिस्तानबीच गत वर्ष भएको सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी सरकारका एक मन्त्री भारत भ्रमणमा पुग्नुभएको छ ।
पाकिस्तानका जलवायु परिवर्तनमन्त्री मुसादिक मलिक आज भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको हो । उहाँ साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सांस्कृतिक बैठकमा पाकिस्तानको प्रतिनिधित्व गर्दै सहभागी हुनुभएको छ ।
सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएयता भारत र पाकिस्तानबीच मुख्यतः काश्मीर विवादलाई लिएर पटकपटक युद्ध र तनाव हुँदै आएको छ । गत वर्ष पनि काश्मीरमा पर्यटकमाथि भएको आक्रमणपछि दुई देशबीच चार दिनसम्म सैन्य द्वन्द्व भएको थियो ।
उक्त घटनामा पाकिस्तानको समर्थन रहेको भारतले आरोप लगाए पनि पाकिस्तानले अस्वीकार गर्दै आएको छ । त्यसपछि भएका ड्रोन, क्षेप्यास्त्र र तोपखाना आक्रमणमा दुवै देशका कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।
यसअघि सन् २०२३ मा पाकिस्तानका पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारी भारतमा भएको एससीओ बैठकमा सहभागी हुनुभएको थियो । त्यसको एक वर्षपछि भारतीय विदेशमन्त्री एस जयशङ्कर पाकिस्तानमा आयोजित एससीओ बैठकमा सहभागी हुनुभएको थियो । त्यसयता पाकिस्तानी मन्त्रीको यो पहिलो भारत भ्रमण हो ।
चार दिनसम्म चल्ने सांस्कृतिक बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एससीओको सभ्यतागत संवाद मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । साझा सभ्यतागत सम्पदाको प्रवद्र्धन, जनस्तरको सम्बन्ध विस्तार तथा अन्तरसांस्कृतिक संवाद र सहकार्यलाई प्रोत्साहन गर्नु बैठकको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।
मलिकको भारत भ्रमण दुई देशबीचको सुरक्षा तनाव कायमै रहेका बेला भएको हो । उहाँको भ्रमणभन्दा दुई दिनअघि मात्रै भारतका सुरक्षा बलले पाकिस्तानमा सक्रिय लस्कर–ए–तैयबाका कमान्डर लतिफ भटलाई मारेको जनाएको थियो ।
भारत र पाकिस्तानबीचको तनाव कूटनीतिक तथा सैन्य क्षेत्रमा मात्र सीमित नभई खेलकुदमा समेत देखिएको छ । सुरक्षा चिन्ता जनाउँदै पाकिस्तानले यस वर्ष भारतमा आयोजित एसियाली हक्की प्रतियोगिताबाट आफ्नो राष्ट्रिय टोली फिर्ता बोलाएको थियो । ०००००
 

प्रतिकृया दिनुहोस