प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य देखेको भारतीय प्रधानमन्त्री मोदीको धारणा 

नयाँ दिल्ली, ७ मङ्सिर । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने स्पष्ट दृष्टिकोण प्रधानमन्त्री बालेन्द्र शाहमा देखेको बताउनुभएको छ ।
प्रधानमन्त्री शाहसँगको भेटपछि नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा मोदीले शाहको दृष्टिकोण र प्रतिबद्धताबाट आफू प्रभावित भएको बताउनुभयो ।
नेपाली जनताले प्रधानमन्त्री शाहलाई दिएको ऐतिहासिक जनादेश नयाँ पुस्ताको आकांक्षा र आशाको प्रतिबिम्ब भएको उल्लेख गर्दै उहाँले सशक्त र समृद्ध नेपालको यात्रामा भारत सधैँ साझेदार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसै अवसरमा भारतले नेपालमा पुनर्निर्माण र दीर्घकालीन विकासका लागि दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेज घोषणा गरेको छ । उक्त सहयोगले विपद्प्रभावित परिवारको पुनःस्थापना र भविष्यमा विपद् सामना गर्ने नेपालको क्षमता बढाउन मद्दत पुग्ने मोदीको भनाइ छ ।
उहाँले भारत र नेपालबीचको सम्बन्ध साझा इतिहास, संस्कृति, आस्था र जनस्तरको निकटतामा आधारित रहेको बताउनुभयो । जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता जनाउँदै उहाँले आजदेखि सुरु भएको सरयू–कमला रेल सेवाले दुवै देशका धार्मिक पर्यटकलाई सहज हुने बताउनुभयो ।
त्यस्तै, सडक, रेल तथा सीमा सम्पर्क विस्तार, व्यापार सहजीकरण र नेपालको पारवहन पहुँच बढाउन भारतले सहयोग गर्ने उहाँले बताउनुभयो । 
नेपालको जलविद्युत् सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्न भारतको ऊर्जा बजार सहयोगी बन्न सक्ने उल्लेख गर्दै मोदीले तल्लो अरुण आयोजनाको शिलान्यास र अरुण–३ आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन र झापामा पेट्रोलियम भण्डारण केन्द्रको शिलान्यासले दुई देशबीचको आपूर्ति साझेदारी थप बलियो हुने उहाँले बताउनुभयो ।
नेपालका युवाको प्रतिभा र क्षमतालाई प्रोत्साहन गर्न नयाँ उद्यम प्रवद्र्धन केन्द्र, नवप्रवर्तन केन्द्र तथा भारतीय प्राविधिक संस्थानको बाह्य परिसर स्थापना गर्न भारत प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री मोदीले जानकारी दिनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस