नेपाल–भारत सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्न प्रधानमन्त्री शाहको जोड
नयाँदिल्ली, ७ मङ्सिर ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्ने बताउनुभएको छ ।
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई देशको सम्बन्धलाई नयाँ युगको आवश्यकताअनुसार अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाल–भारत सम्बन्धको मुख्य आधार पारस्परिक सम्मान, विश्वास र जनस्तरको आत्मीयता रहेको उल्लेख गर्दै प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
दुई देशबीच भएको उच्चस्तरीय वार्तामा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने र विकास साझेदारीका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
समझदारी र विकास आयोजनाबाट प्राप्त उपलब्धि किसानको खेतमा समृद्धि, युवाको हातमा रोजगारी, विद्यार्थीका लागि नयाँ अवसर र उद्यमीका लागि लगानी तथा बजार विस्तारका रूपमा देखिनुपर्ने प्रधानमन्त्री शाहको भनाइ थियो ।
उहाँले जलवायु परिवर्तनका चुनौती सामना गर्न र हिमालयबाट बग्ने नदी तथा जलस्रोतको संरक्षण र उपयोगका लागि दुवै देशबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न स्वागत गर्दै उहाँले नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थानमा भारतीय विद्यार्थीले समेत अध्ययन गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभयो ।
दुवै देशका नागरिकको आवागमन सहज बनाउन नेपाल र भारतका विभिन्न सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
प्रधानमन्त्री शाहले दुई देशको साझा दृष्टिपत्र र संयुक्त उपलब्धि समेटिएको प्रेस विज्ञप्ति सार्वजनिक गरिने जानकारी दिँदै आपसी विश्वास र सहकार्यबाट भावी पुस्ताका लागि नयाँ सम्भावनाका ढोका खोल्न सकिने विश्वास व्यक्त गर्नुभयो । ०००००











प्रतिकृया दिनुहोस