साउदी अरबको राजधानी रियादमा भएको आक्रमणमा तीन जना नेपाली घाइते, अवस्था अझै अज्ञात

विर्तामोड, ९ मङ्सिर । 
साउदी अरबको राजधानी रियादस्थित वित्तीय केन्द्रमा भएको आक्रमणमा तीन नेपाली नागरिक घाइते भएका छन् । आक्रमणमा नेपालीसहित ११ जना घाइते भएपछि साउदी अरबमा कार्यरत नेपाली श्रमिकको सुरक्षालाई लिएर चासो बढेको छ ।
साउदी अरबको नागरिक सुरक्षा निकायका अनुसार मंगलबार (नोभेम्बर २४) किङ अब्दुल्लाह वित्तीय जिल्लामा रहेको अग्लो भवनलाई लक्षित गरी आक्रमण भएको थियो। घटनामा तीन नेपाली, चार इजिप्टका, दुई भारतीय र दुई साउदी नागरिक घाइते भएका छन् ।
घाइते नेपालीहरूको नाम, ठेगाना, कार्यरत कम्पनी तथा उनीहरूको स्वास्थ्य अवस्थाबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन । उनीहरूलाई कस्तो चोट लागेको हो र उपचार कहाँ भइरहेको छ भन्नेबारे पनि आधिकारिक जानकारी आउन बाँकी छ ।
नेपाली नागरिकसमेत घाइते भएको घटनाले रोजगारीका लागि साउदी अरबमा रहेका हजारौँ नेपालीको सुरक्षाबारे प्रश्न उठाएको छ । विशेषगरी साउदी अरबका आर्थिक तथा रणनीतिक महत्त्वका क्षेत्रमा आक्रमणका घटना दोहोरिन थालेपछि त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षा चासोको विषय बनेको छ ।
आक्रमण भएको भवन रियादको किङ अब्दुल्लाह वित्तीय जिल्लामा रहेको ८० तले टावर हो । भवन साउदी अरबको सार्वभौम सम्पत्ति कोष पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) को मुख्यालयका रूपमा परिचित छ ।
साउदी नेतृत्वको यमनसम्बन्धी सैन्य गठबन्धनले घटनालाई ‘आतंकवादी आक्रमण’ भनेको छ । घटनापछि उद्धार तथा आपत्कालीन सुरक्षा टोली परिचालन गरिएको र सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाइएको छ ।
यसअघि गत नोभेम्बर १९ मा पनि सोही वित्तीय जिल्लास्थित टावरमा आक्रमण भएको थियो। त्यसबेला भवनमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भएको थिएन । एक साताभित्रै सोही क्षेत्रमा दोस्रोपटक आक्रमण भएपछि सुरक्षा चुनौती थपिएको छ ।
यमनका हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको द्वन्द्व चर्किँदै जाँदा साउदी अरबका विभिन्न पूर्वाधार तथा आर्थिक केन्द्रहरू निशानामा पर्दै आएका छन् ।पछिल्लो घटनामा तीन नेपाली घाइते भएको पुष्टि भए पनि उनीहरूको अवस्थाबारे विवरण सार्वजनिक नहुँदा नेपाली समुदायमा चासो र चिन्ता बढेको छ । घाइते नेपालीको अवस्था र उपचारबारे सम्बन्धित नेपाली निकाय तथा साउदीस्थित नेपाली दूतावासबाट थप जानकारी आउन बाँकी छ । ००००००
 

प्रतिकृया दिनुहोस