मलेसिया एयरलाइन्सले १० वटा बोइङ ड्रीमलाइनर विमान खरिद गर्ने
मलेसिया, ९ मंसिर ।
मलेसिया एयरलाइन्सले आफ्नो विमान बेडा आधुनिकीकरण गर्दै लामो दूरीका उडान विस्तार गर्न १० वटा बोइङ ७८७–१० ड्रीमलाइनर विमान खरिद गर्ने भएको छ ।
मलेसिया एयरलाइन्सको मूल कम्पनी मलेसिया एभिएसन ग्रुपका अध्यक्ष नसरुद्दीन ए बकरले आज क्वालालम्पुरमा विमान खरिदसम्बन्धी घोषणा गर्नुभएको हो ।
सम्झौता अनुसार कम्पनीले थप ६ वटा विमान खरिद गर्न सक्ने विकल्पसमेत पाएको छ ।
अध्यक्ष बकरका अनुसार विस्तृत मूल्याङ्कनपछि इन्धन दक्षता, सञ्चालन क्षमता र दीर्घकालीन विस्तारलाई ध्यानमा राखेर ड्रीमलाइनर विमान छनोट गरिएको हो ।
सम्झौताको वास्तविक मूल्य सार्वजनिक नगरिए पनि थप छुटअघि १६ वटा विमान र तिनका इन्जिनको सूची मूल्य करिब नौ अर्ब ३० करोड अमेरिकी डलर रहेको उहाँले जानकारी दिनुभयो ।
करिब ३३० यात्रु बोक्न सक्ने बोइङ ७८७–१० ले एयरबसका ए३५०–९०० र ए३३०–९०० नियो विमानसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि मलेसिया एभिएसन ग्रुपले गत वर्ष मार्चमा ३० वटा बोइङ ७३७ सिरिजका विमान खरिद गर्ने घोषणा गरेको थियो । नयाँ विमान खरिदलाई यस दशककै महत्वपूर्ण विस्तार योजना भन्दै कम्पनीले आगामी दशकसम्म यात्रुलाई सेवा दिन सक्ने अपेक्षा गरेको छ । ०००००

.jpeg)










प्रतिकृया दिनुहोस