ट्रम्पद्वारा चीनसहित १४ देश तथा क्षेत्रका वस्तुमा नयाँ भन्सार शुल्क घोषणा
बिर्तामोड, १० मंसिर ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, युरोपेली सङ्घसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ । प्रस्तावित व्यवस्थाअनुसार चीनबाट आयात हुने वस्तुमा ४० प्रतिशतसम्म, भियतनाममा ३५ प्रतिशतसम्म तथा अन्य देशमा २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ। नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गरेको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि नयाँ शुल्कको तयारी गरिएको हो । त्यसपछि ह्वाइट हाउसले विभिन्न देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो । नयाँ शुल्क चीन, भारत, जापान, दक्षिण कोरिया, बंगलादेश, भियतनाम, थाइल्यान्ड, मलेसियालगायत देश तथा युरोपेली सङ्घमा लागू हुने प्रस्ताव गरिएको छ । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ शुल्कले अमेरिकी श्रमिक र उद्योगलाई समान प्रतिस्पर्धाको अवसर दिने दाबी गर्नुभएको छ । तर अर्थशास्त्रीहरूले भन्सार शुल्कका कारण आयात लागत बढ्ने, वस्तुको मूल्य महँगिने र मुद्रास्फीति बढ्न सक्ने चेतावनी दिएका छन् । यसले विश्व व्यापारसमेत प्रभावित हुन सक्ने उनीहरूको भनाइ छ । ट्रम्पले अमेरिकी उत्पादन र रोजगारी वृद्धि गर्नुका साथै व्यापार घाटा घटाउने उद्देश्यले भन्सार शुल्क नीतिलाई प्राथमिकता दिँदै आउनुभएको छ ।












प्रतिकृया दिनुहोस