आइएसमा आबद्ध आठ फ्रान्सेलीलाई आजीवन कारावास 

इराकी अदालतद्वारा अन्य दुईलाई १५ वर्ष कैद, १० जनाको फैसला स्थगित ।
बगदाद, १० मङ्सिर ।

इस्लामिक स्टेट अर्थात् आइएस समूहमा आबद्ध भएको अभियोगमा इराकको एक अदालतले आठ फ्रान्सेली नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
आज भएको फैसलामा अन्य दुई जनालाई १५ वर्ष कैद सजाय सुनाइएको छ भने थप १० जनाको फैसला अर्को मितिका लागि स्थगित गरिएको छ ।
सजाय पाउने व्यक्तिहरू गत वर्ष सिरियाबाट इराक ल्याइएका र गत सेप्टेम्बरदेखि मुद्दा चलाइएका ४७ फ्रान्सेली नागरिकमध्येका हुन् । यसअघि पनि अदालतले अन्य १५ जनालाई आजीवन र एक जनालाई १५ वर्ष कैद सजाय सुनाइसकेको छ ।
सुनुवाइका क्रममा अधिकांश प्रतिवादीले आइएसमा आबद्ध भएको स्वीकार गर्दै पछुतो व्यक्त गरेका थिए । केहीले फ्रान्स फर्कन पाउनुपर्ने मागसमेत गरेका थिए ।
फ्रान्सले आइएसमा संलग्न भएको आरोप लागेका अधिकांश पुरुषलाई स्वदेश फर्काउन अस्वीकार गर्दै आएको छ । इराकले भने इराक वा सिरियामा आइएसका लागि काम गरेको भए पनि आफ्नो आतङ्कवादविरोधी कानुनअनुसार कारबाही गरिरहेको जनाएको छ ।
आइएसले सन् २०१४ मा इराक र सिरियामा हिंसात्मक गतिविधि विस्तार गरेको थियो । अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनको सहयोगमा इराकले सन् २०१७ मा र अमेरिकी समर्थन प्राप्त कुर्दिश नेतृत्वको सेनाले सन् २०१९ मा सिरियामा उक्त समूहलाई परास्त गरेको घोषणा गरेका थिए ।
यद्यपि, आइएसका गतिविधि र अत्याचारसम्बन्धी अनुसन्धान तथा मुद्दाको प्रक्रिया अझै जारी रहेको छ । इराकी अदालतले विदेशी लडाकुसहित आतङ्कवादसम्बन्धी अपराधमा दोषी ठहरिएकाहरूलाई विगतमा पनि कठोर सजाय सुनाउँदै आएको छ । केही मानवअधिकारवादी संस्थाले भने मुद्दाको सुनुवाइ प्रक्रिया र निष्पक्ष न्यायबारे प्रश्न उठाउँदै आएका छन् । ०००००

प्रतिकृया दिनुहोस