झापामा मङ्सिर १५ गतेदेखि धान खरिद सुरु हुने
झापा, १० मंसिर ।
झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत यस वर्ष झापाबाट १२ हजार क्विन्टल धान खरिद गरिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा आज बसेको प्राथमिक जिल्ला धान खरिद समितिको बैठकले सो निर्णय गरेको हो ।
खरिद गरिने धानमध्ये आठ हजार क्विन्टल सोना मन्सुली र चार हजार क्विन्टल रञ्जित मन्सुली रहेको छ । दुवै जातको धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार आठ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।
धान खरिद खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिर्तामोडस्थित कार्यालयमार्फत गरिनेछ । स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन र कृषकलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यले सरकारले समर्थन मूल्य निर्धारण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले धान खरिद तथा बिक्री प्रक्रियामा स्वस्फूर्त सहभागिता जनाउन निजी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेत आग्रह गर्नुभएको छ । ०००००












प्रतिकृया दिनुहोस