हेंवाखोलामा डाइभर्सन नबन्दा तमोर करिडोरमा यातायात अवरुद्ध
बिर्तामोड, ११ मंसिर ।
निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माण नहुँदा साना सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । हिउँद लागेर खोलाको बहाव घटे पनि दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधनले खोला पार गर्न सक्ने अवस्था छैन । फिदिम–मुलघाट खण्ड नियमित सञ्चालनमा आए पनि फिदिम–काबेली खण्डमा ठूला सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । डाइभर्सन नहुँदा हिलिहाङ गाउँपालिकाका बासिन्दा सदरमुकाम आवतजावत गर्न दोब्बर बढी दूरी घुम्नुपर्ने बाध्यतामा छन् । स्थानीयवासीले निर्माण कम्पनी र सम्बन्धित निकायको बेवास्ताका कारण यातायात तथा व्यापार व्यवसाय प्रभावित भएको भन्दै तत्काल डाइभर्सन निर्माण गर्न माग गरेका छन् । गत चैतदेखि वर्षाका कारण डाइभर्सन टिक्न नसक्दा यातायात अवरुद्ध भएको हो । यसअघि २०८० साल असारमा बाढीले बेलिब्रिज र खोलाकिनारको सडक बगाएपछि डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको थियो । हेंवाखोलामा पुल निर्माण हुन बाँकी रहेकाले डाइभर्सन नै यातायात सञ्चालनको विकल्प बनेको छ । तर, यस वर्ष डाइभर्सन निर्माणमा ढिलाइ र पुल निर्माणमा प्रगति नहुँदा स्थानीयवासी थप समस्यामा परेका छन् । उनीहरूले सम्बन्धित निकाय र स्थानीय तहले समन्वय गरी तत्काल समस्या समाधान गर्न माग गरेका छन् ।












प्रतिकृया दिनुहोस