हेंवाखोलामा डाइभर्सन नबन्दा तमोर करिडोरमा यातायात समस्या
बिर्तामोड, ११ मंसिर ।
पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माण नहुँदा तमोर करिडोर सडकमा साना सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । हिउँद सुरु भएर खोलाको बहाव घटे पनि दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधनले खोला पार गर्न सक्ने अवस्था छैन ।
फिदिम–मुलघाट खण्ड नियमित सञ्चालनमा आए पनि फिदिम–काबेली खण्डमा ठूला सवारीसाधन मात्रै चलिरहेका छन् । डाइभर्सन नहुँदा हिलिहाङ गाउँपालिकाका बासिन्दा सदरमुकाम आवतजावत गर्न दोब्बर बढी दूरी घुम्नुपर्ने बाध्यतामा छन् ।
यातायात अवरुद्ध हुँदा स्थानीयको दैनिक आवतजावतसँगै माझीटार क्षेत्रको व्यापार व्यवसायसमेत प्रभावित भएको छ । स्थानीयवासीले निर्माण कम्पनी र सम्बन्धित निकायको बेवास्ताका कारण समस्या लम्बिएको भन्दै तत्काल डाइभर्सन बनाउन माग गरेका छन् ।
हेंवाखोलामा रहेको बेलिब्रिज र सडक २०८० साल असारको बाढीले बगाएपछि डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको थियो । तर यस वर्ष चैतदेखि यातायात अवरुद्ध भए पनि आठ महिनासम्म स्थायी समाधान हुन सकेको छैन ।
खोलामा पुल निर्माणसमेत बाँकी रहेकाले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले समन्वय गरी तत्काल डाइभर्सन निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ ।












प्रतिकृया दिनुहोस