आर्मी दोस्रो झापा महिला गोल्डकपको फाइनलमा प्रवेश
दुधे, १० मंसिर ।
त्रिभुवन आर्मी फुटबल क्लब झापाको दुधेमा जारी दोस्रो झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई एक–शून्य गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
दुधे रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको ५१औँ मिनेटमा चन्द्रा भण्डारीले गरेको गोल नै निर्णायक बनेको हो । बिमला चौधरीको प्रहार पुलिसकी गोलकिपर उषा नाथबाट रिबाउन्ड भएपछि चन्द्राले गोल गरेकी हुन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्ने आर्मीकी बिमला विक प्लेयर अफ द म्याच घोषित भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
अब उपाधिका लागि आर्मीले शनिबार सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । ०००००












प्रतिकृया दिनुहोस