साल्पा–सिलिचुङमा किरात सभ्यता झल्काउने मुन्दुमी संरचना निर्माण

बिर्तामोड, ११ मंसिर । 
किरात समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सङ्गमस्थलमा सुम्निमा, पारुहाङ, नाक्छुङ, तीन चुल्हासहितको मुन्दुमी माङथाम र चिण्डोसहितका संरचना निर्माण गरिएका हुन् ।

देश तथा विदेशमा रहेका किराती र गैरकिरातीबाट सङ्कलित रकममध्ये दुई करोड ६२ लाख रुपैयाँ खर्च गरेर संरचना निर्माण गरिएको साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष राजेन खिम्बुले राईले जानकारी दिनुभयो ।

करिब चार वर्षदेखि तीन चरणमा सञ्चालन गरिएको अभियानअन्तर्गत ३५ फिट अग्लो पित्तलको चिण्डो, पोखरीभित्र पारुहाङको प्रतिमा र नाक्छुङ चराको प्रतिमासमेत स्थापना गरिएको छ ।

समुद्री सतहबाट चार हजार १५५ मिटर उचाइमा रहेको सिलिचुङ र तीन हजार ६७२ मिटर उचाइमा रहेको साल्पापोखरी किरात समुदायको आस्थाको केन्द्र मानिन्छन् । यहाँ हरेक वर्ष चारवटा पूर्णिमामा धार्मिक मेला लाग्ने गर्दछ ।

मुन्दुमी सभ्यताको संरक्षण, अध्ययन र पर्यटन प्रवर्द्धन गर्दै साल्पा–सिलिचुङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्य राखिएको छ । यस क्षेत्रलाई जोड्ने मुन्दुम पदमार्गमा पछिल्लो समय होटल तथा होमस्टे विस्तार हुन थालेपछि पर्यटकको आकर्षणसमेत बढ्दै गएको छ ।
 

प्रतिकृया दिनुहोस